Breaking News
Loading...
######
Monday, July 8, 2013

Surya Rai
खगेन्द्र संग्रौला अवोध बालबालिकालाई काँधमा बोक्दा तिनले आफूलाई बोक्नेभन्दा आफू अग्लो भएको अनुभूति गर्छन् । र, त्यो अग्लाइको अनुभूतिबाट तिनलाई अपार आनन्द प्राप्त हुन्छ । तिनको त्यो अनुभूति निश्छल र निष्कपट हुन्छ । र, त्यो अनुभूति कुण्ठा, दम्भ र पाखण्डमुक्त हुन्छ । तर, छिप्पट मानवको कुरा भने बेग्लै हो । 
कुनै छिप्पट वा वृद्ध मानवलाई उसको बुद्धि र बुता तथा अनुभव र योगदानभन्दा ठूलो पद, इज्जत र हैसियत दिएर जब घ्याप्प काँधमा बोकिन्छ, म के के भएँ भन्ठान्दै ऊ बेपत्तासँग पात्तिन्छ । उसले आफूलाई बोक्नेलाई आफ्ना खुट्टा ठान्छ र आफूलाई ठान्छ अग्लो न अग्लो, यशस्वी र ओजस्वी । त्यसैत्यसै मात्तिएर र उल्किएर ऊ भ्रमित हुन्छ । र, उसले आफूलाई बोक्नेको उचाइलाई समेत आफ्नै उचाइको अभिन्न अंश ठान्छ । उसले उत्ताउलिएर धरातल छाड्छ । र, उसले आफूलाई बोक्नेका काँधैमा लाजै नमानी लितिक्क बिस्ट्याउँछ । विचलन र बेथितिको ओरालो झर्दै उच्चाटलाग्दा दृश्यहरूको सिर्जना गरिरहेको राजनीतिमा यस घडीमा यस्ता भूइँफुट्टा पात्रहरू देख्न हामी अभिशप्त छौँ । कुन्नि, यथार्थको यस्तै विद्रूप परिदृश्यमा खिलराज रेग्मी र नीलकण्ठ उप्रेती हाजिर भएका पो हुन् कि † यी दुई मानव आ–आफ्ना तिर्खालु तालुमा सपनामा पनि नचिताएका आलु फलेका तिलस्मी नायक हुन् । श्रीमान् रेग्मी परे लोकलाई पत्याउनै गाह्रो पर्ने मन्त्रिपरिषद्का नायक र उप्रेती महोदय परे निर्वाचन आयोगका नायक । यिनका वचन र कर्ममा बेतालका फाइँफुट्टी र तुजुकहरू देखिन्छन् । यिनका ताहुरमाहुर र चुरिफुरीमा विचित्रको परिहासको झल्को आउँछ । जसले कृपापूर्वक वा लाचारीपूर्वक आफूलाई काँधमा बोके, यी तिनैलाई खिसी गर्छन् । जसले आफ्ना तालुमा सपनामा पनि नदेखेको आलु फलाइदिए, यी तिनैको मान मर्दन गर्दै हिँड्छन् । लुकिछिपी त्यसो गरे केही थिएन, यी त जनजनका नजरमा छर्लंगै देखिने सार्वजनिक थलाहरूमा त्यसो गर्दै छन् । मुसे आवाजमा त्यसो गरे तैबिसेक ठीकै हुन्थ्यो भनौँ, यी त ढ्वाङमा मुख जोतेर आकाशै चिरिने गरी फतफत गर्दा छन् । लोकतन्त्रको इज्जत र लोकहितका दृष्टिले यो सब शुभ लक्षण किमार्थ होइन ।
राजनीतिको मौसम ठीक छैन । यो राजनीतिमा नायक र खलनायक गालेमाले भएको गन्जागोल याम हो । जो नायक थियो, ऊ आफैँले जन्माएको खलनायकलाई काँधमा बोकेर कन्दै हिँडिरहेछ । जो नवजात खलनायक हो, ऊ नायकका काँधमा बसेर चञ्चल बालकले झैँ खुट्टा हल्लाउँदै राजषी मुद्रामा मुस्कुराइरहेछ । के जाती गर्नेलाई भन्दा त्यो गरेको देख्ने हामी नागरिकलाई यो अश्लील दृश्य हेर्न र पचाउन कति गाह्रो †
कुरा हिजैमात्रको त हो । सर्वोच्च अदालतको सर्वोच्च आसनमा बसेर हिजो स्वेच्छाचारी मुद्रामा आफ्नो क्षेत्राधिकार नाघ्दै संविधानसभाको वध गर्ने शूरवीर को थियो ? खिलराज रेग्मी स्वयं थिए । आफ्नै हातले वध गरेको शिशुलाई पुनर्जीवन दिने शासकीय आसनमा अहिले को छ ? विडम्बनावश, उनै खिलराज छन् । उनको एउटा खल्तीमा मन्त्रीहरूमध्येका शिखर मन्त्रीको पद छ, र उनको अर्को खल्तीमा बकाइदा सुरक्षित छ प्रधानन्यायाधीशको पद । ल हेर्नुस्, भाग्यमानीका भूतै कमारा † रेग्मी परे मत्र्यलोकका हुनुसम्म भाग्यमानी जीवात्, ‘चार ठूला’का ठूलेहरू हुनगए राजनीतिक वृत्तमा गतिलो पात्र कोही नपाएर तिनलाई काँध थाप्ने लाचार कमारा । ‘यी चार ठूला’का ठूलेहरूले दिग्भ्रमको मनोदशामा आफ्नै हातले आफ्ना शिर कलमी गरेर रेग्मीको शिरमा थपक्क टाँसिदिए । शुद्धि हराएको क्षणमा शिर टाँसिदिन त सजिलै भयो होला, अब फर्काउन सजिलो छैन । चुनाव भए त नेताश्रीहरूका अमूल्य शिरहरू फर्किएलान् नै । नभए ? नभए कि दैव जानोस् कि जानोस् जनजीवनदेखि धेरै परको अपारदर्शी टापुमा बसोबास गर्ने रहस्यमय जंगी अड्डा । 
शंकास्पद नजरले दायाँबायाँ नहेरी गर्नुपर्ने काम खुरुखुरु गरिदिए प्राविधिक मार्काको खिलराज सरकारको एउटा र एउटै मात्र काम हो चुनाव गराउनु । म सम्झन्छु, कतै गोप्य खोपीमा गुप्त तरिकाले अराजनीतिक रेग्मी सरकार जब बन्दैथियो त्यो वेला जानिफकारहरू भन्ने गर्थे— कर्मचारीहरूको सरकार कामकाजी हुन्छ । यसले बकबक गर्दैन । तोकिएको काम–कर्तव्यबाट यो कतै बरालिँदैन । यो १० बजे सुरुसुरु मन्त्रालय जान्छ र आफूलाई सुम्पिएको काम दिनभर खुरुखुरु गर्छ । तर, जब निर्दलीय खिलराजगण सत्ताशीन भयो, यसको नचिताएको औतार लगत्तै दृष्टिगोचर भयो । खिलराजगण त मेरी बास्सै † मखलेल मुद्रामा जताततै अबिर लाउन निधार थाप्न थाल्यो, फूलमाला र खादा ग्रहण मुन्टो निहुराउन थाल्यो । यसलाई न आफ्नो कामको हेक्का छ न कर्तव्यको चिन्ता । मानौँ उत्सवै–उत्सव मनाउन र मोजमस्ती गर्न यो सत्ताशीन भएको हो । यसो हेर्‍यो, हिजोपछि आज तिनको चाल उस्तै छ । कतै तिनको अभिनन्दन हुन्छ, कतै तिनको जयजयकार हुन्छ । अनि कतै तिनका बाहुलीबाट उद्घाटन, कतै विमोचन, कतै भोज, कतै मोज । अरे हाव, हुँदाहुँदा रेग्मी महोदय त जोक्कर–जोक्कर टाइपको भाव–मुद्रामा स्काउटको ठिटौले पोसाकमा पो झुल्किन थाले । एवं रीतले कामकुरो एकातिर छ, खिलराजगण हाँसझैँ हल्लिँदै लाग्यो ठम्ठम् ठिमीतिर । ताल पनि † न किञ्चित् पदीय दायित्वबोध छ, न जिम्मेदारीको एक पित्को चेत छ । न म को थिएँ, म कसरी के बनाइएँ, मैले गर्नुपर्ने के हो भन्ने कुराको सम्झना छ । न बितो, बिग्रिएको एकरत्ती फिक्री छ । अराजनीतिक निर्दलु सरकारलाई आफ्नो सक्कली चरित्र देखाउन बेरै लागेन । जब त्यो देखे, निर्दलु सरकारका निर्माताहरू झस्किए । गाँठ्ठे † यिनले डुबाउने पो हुन् कि † 
राजनीतिको झुर नाटकमा अर्को दृश्य खुल्यो । हिजो ‘चार ठूला’का ठूलेहरू दिने ठाउँमा थिए, रेग्मीगण माग्ने ठाउँमा थियो । अब तिनको स्थान उल्टियो । रेग्मीगण गमक्क फुल्दै दिने ठाउँमा माथि उक्लियो, ‘चार ठूला’का ठूलेहरू माग्ने ठाउँमा तल झरे । ‘श्रीमान् छिटो चुनावको घोषणा गरिपाऊँ’– ती हात पसारेर भीख माग्न थाले । उच्चाटलाग्दो आलटाल र ढिलढालपछि रेग्मीगणले असीम कृपापूर्वक चुनावको घोषणा गर्‍यो । र, सुन्नेलाई हदै लाज हुने गरी चुनावको घोषणालाई उसले आफ्नो हनिमुनकालको महान्तम् उपलब्धिमा दर्ज गर्‍यो । झन्डा र डन्डा, सलामी र सुरक्षा तथा भत्ता र प्रतिष्ठासहित जो जे गर्न सत्ताको गद्दामा बसको छ उसले त्यो गर्नु के को महान् उपलब्धि ? त्योभन्दा महान् उपलब्धि त ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थित गर्नु, कुचीकारले सडक बढार्नु र फोहोर उठाउनेले फोहोर उठाउनु पो हो । तथापि सुविधा र सम्मानविहीन यी मनुवाहरू हामी के के न तमास गरिरहेका छौँ भन्दैनन् त । आफूले आफैँलाई ‘राम्रो म’ भन्नुको सट्टा अरूले भनिदिए नरलोकले लज्जित हुनुपर्ने त थिएन कि †
छिनछिनमा चाबुक नदिई अटेरी बूढो घोडा मरिगए डेग चल्दैन । लाग्छ, निर्दलीय रेग्मी सरकार पनि त्यस्तै हो । अब कि दलीय चाबुकको जोडले चुनाव हुन्छ कि चुनावै गोपीक्याँच हुन्छ । आफैँ आफूलाई निरीह भिखारीको दर्जामा झार्ने ‘चार ठूला’का ठूलेहरूलाई थाहै होला ।
श्री नीलकण्ठ उप्रेतीका वचन र कर्मले बनेको कथा त झनै कहिनसक्नु छ । खस्रो तालुमा हठात् ढ्याके आलु फलेका उप्रेती महोदय सत्ताको लगाम खैँचिने राजनीतिकर्मी होइन, झर्रा कर्मचारी हुन् । कर्मको वृत्त र चरित्रका हिसाबले कर्मचारी भनेको ‘गोपीकृष्ण’ महलको जीवात् हो । जसले आफूलाई भर्ती गर्छ, ‘गोपीकृष्ण’ उसैको खटनमा चल्छ– पट्टु † खटन गर्ने वास्तवमा पात्रले होइन, चलनचल्तीका नीति र नियमहरूको इसाराले हो । निर्वाचन नायकको उच्चासनमा विराजमान हुने काजीको काम यताउता सट्याकसुटुक नहेरी जिब्रालाई अदपमा राखेर खुरुखुरु नीति र नियममा चल्नु हो । र, निजको कर्तव्य हो चुपचाप चुनावको प्राविधिक र व्यावहारिक चाँजोपाँचो मिलाउनु । तर, ‘गोपीकृष्ण’ महलका नीलकण्ठ महोदयको दिनचर्या अजीव छ । अर्काका काँधमाथि बोकिएर अग्लो हुनाको भ्रमले होला सायद ती त मानौँ आफूलाई ‘चार ठूला’का ठूलेहरूभन्दा कति हो कति ठूला ठान्छन् । ती चुनावी तयारीको सात काम छाडेर एकपछि अर्को सभामा भाषण ठोक्दै हिँड्छन् । 
ती आफूलाई बोक्नेहरूलाई खसालेर बोल्छन् । चुनावका बाटाभारि तगारा छन्, ती कर्तव्यबोध गर्दै हात बढाएर आफ्नो भागका तगारा पन्छाउँदैनन् । बरु ‘चार ठूला’का ठूलेहरूतिर चोर औँलो ठड्याउँछन् । यस्तो लाग्छ मानौँ यी निर्वाचन नायक घागडान् राजनीतिकर्मी हुन् । मानौँ यी आफैँ प्रधानमन्त्री हुन् । मानौँ राजनीतिका सर्वाधिकारी अधिपति हुन् यी । जब यी राजनीति र राजनीतिकर्मीहरूलाई यस्ता र उस्ता भनेर बात लगाउँदै दिव्यवाणी जारी गर्छन्, सञ्चारका प्राय:जसो सम्पादक नामक कारिन्दाहरू दंग पर्छन् । र, यिनको पूर्ण कदको तस्बिर र यिनका दिव्यवाणी अखबारको पहिलो पातोमा प्रमुखता साथ झ्याप्पै छाप्छन् । र, यो सब असंगत चर्तिकला देख्दा सके सर्वधारण पाठकलाई लाग्छ– हैन, निर्वाचन नायक त राजै पो भए कि † जो टुप्पोबाट पलाउँछ त्यसलाई टीके भनिन्छ । टीकेहरूका वचन र व्यवहारमा, दायित्व र कर्ममा संगति हुँदैन । अहिले बोकिएका जीवात्हरूलाई जब देख्छु, मलाई ज्ञानेन्द्र महाराजका पालाका टीकेहरूको झल्झली सम्झना हुन्छ ।
संविधानसभाको यो चुनाव नयाँ संविधानसभाको नयाँ चुनाव होइन । यो त उही संविधानसभाको अर्को चुनाव हो, त्यसैको अर्को औतार, त्यसैको निरन्तरता । तर लाग्छ, चिन्तनशील निर्वाचन नायक नीलकण्ठको बुझाइ बेग्लै छ । तिनका दृष्टिमा अघिल्लो संविधानसभा बेग्लै हो, यो बेग्लै । तिनका लागि यी दुईमाझ मानौँ गोरु बेचेको साइनो पनि छैन । त्यसैले त होला, कल्पनाशील नीलकण्ठ महोदय चुनावी आचारसंहिताका नयाँनयाँ सूत्रहरूको सिर्जना गर्न कन्दनी कसेर डटेका छन् । गनिनसक्नु दलहरू असहमतिका धोक्रा बोकेर गर्जन गर्दै हिँडिरहेका छन् । एउटा प्रवृत्ति भन्छ– चुनावका लागि म मर्दिन्छु । अर्को प्रवृत्ति जवाफ दिन्छ– चुनाव बिथोल्नका लागि म मर्दिन्छु । जो मर्न तत्पर छन्, तिनका बीचमा कृत्रिम र वास्तविक विमतिहरूको चाङ छ । अनि नीलकण्ठ महोदय ? चुनावी बाटोका असहमतिलाई सहमतिमा फेर्ने यत्न गर्नु त कता हो कता, टीके महलका हाम्रा निर्वाचन नायक थप असमति र थप द्वन्द्वको सिर्जना गर्न यत्नशील छन् । संविधानसभाको चुनावको अर्थ पुरानै हो, चुनावको प्रयोजन पुरानै हो, चुनावको अभीष्ट पुरानै हो । अनि बढ्ता जान्ने भएर किन कन्नु पर्‍यो आचारसंहिताका नयाँ–नयाँ सूत्रहरू कोरल्न ? अनि किन मरिमेट्नु पर्‍यो कथित नवीन आचारसंहिताको वेदीमा चुनावलाई बलि चढाउन ?
जगत्का टीकारामहरू अचम्मका जीव हुन् । यिनलाई यिनको यथार्थ उचाइ र साइजमा नराखे यिनले जीवनको डुंगा डुबाउँछन् ।
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment