संविधान आउने
ग्यारेन्टी के ?
एमाओवादीका नेता
दिल्ली खुसी भए, सबै आफ्सेआफ्
बन्छ, उसैले कांग्रेस-एमालेलाई
दबाब दिएर मनाउँछ भन्ने एकसूत्रीय अभियानमा छन् ।
जगजाहेर छ, राजनीतिक दलहरूले
संघीयताको प्रकार टुंगो नलगाएकाले संविधान आएन । एमाओवादी
अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका वरिष्ठ शेरबहादुर देउवा पनि दिल्लीबाट
निर्वाचन गर्नुपर्ने सन्देश लिएर आएका हुन् । यसैबीच एमालेका केपी शर्मा ओली
दिल्लीमै सन्देश बटुल्दै थिए, उनी फर्के-नफर्केको यी हरफ लेखुन्जेल टुंगो छैन
। हुन पनि उनी र्फकंदा चमत्कार हुने र नर्फकंदा यहाँ केही बित्दो छैन । यता
माधवकुमार नेपाल व्यग्रतापूर्वक दिल्लीबाट निम्तो आउने प्रतीक्षामा छन् ।
जे होस्, नयाँदिल्ली
नेपालमा निर्वाचन गराउन कम्मर कसेर लागेको छ । दिल्ली नै लागिपरेपछि कसो चुनाव
नहोला त भन्नेहरू नभएका होइनन् । नेताहरू त्यसैले निर्वाचनको जिम्मा रेग्मी र
उप्रेतीलाई छोडेर आफू अत्तोनपत्तोका भाषण गर्दै हावादारी पाराले देशभर घुम्दैछन् ।
यी घुमन्ताहरूले संविधान बनाउलान् भनेर पत्याउने नभएका होइनन्, पक्कै छन् ।
जजसलाई पत्यार छैन, उनीहरू प्रत्यक्ष लेखिरहेका, बोलिरहेका छन्, आफ्ना विचार
प्रवाहित गरिरहेका छन् । नेताहरू भन्ठान्दा हुन्, 'पुनःसंविधानसभाकै
निर्वाचनको औचित्य नभएकोबारे पत्रपत्रिकामा लेख्ने, टिभी, एफएममा बोल्ने
विश्लेषकले के नै गर्न सक्छन् । तकवितर्क गर्छन्, आफैं थाक्छन् ।'
तर वस्तुस्थिति
हेरौं । निर्वाचनमा जाने रेग्मी र उप्रेती होइनन्, दलहरू हुन् । दलहरू नै जब
पुनःसंविधानसभाको निर्वाचन किन भन्नेबारे प्रस्ट बोल्न सक्दैनन्, केवल आत्मालाप
गरिरहेका छन् भने निर्वाचनै भए पनि विद्यमान मुद्दामै हल्लिनु सिवाय केही निस्कने
लक्षण छैन । बरु देशले अर्को विजोग देख्नुपर्नेछ । त्यसैले संविधान आउने
ग्यारेन्टी के, यसमा दलहरू आफैं प्रस्ट हुनु र निर्वाचनको औचित्य
देश-दुनियाँसामु प्रस्ट पार्नु जरुरी छ ।
त्यस्तै शासकीय स्वरुपका
मामिलामा कांगे्रसका प्रमुख नेता संसदीय प्रणालीसँग सती जान तयार छन्, तर
मिश्रति निर्वाचन प्रणालीबाट बनेको संसद्ले राजनीतिक स्थिरता नदिने प्रसंग
सुन्नासाथ, चेक एन्ड व्यालेन्सको रट दोहोर्याउन थाल्छन् ।
रेग्मीलाई कार्यकारी प्रमुख बनाउनुचाहिं कुन चेक एन्ड व्यालेन्स हो नि, यो
प्रश्न उठ्नासाथ उनीहरू भयो-भयो पछि कुरा गरौं भनेर तर्कन्छन् कि पन्छन्छन् ।
फेरि कांग्रेसका
प्रमुख नेताहरूको संघीयताको ज्ञानकै विजोग छ । यसबारे त कतिसम्म भने उनीहरू
प्रदेशलाई नै संघ भनिदिन्छन् । प्रदेशहरूको संगठनबाट बन्ने देश नै संघ हो, प्रदेशहरू संघ
अर्थात् राष्ट्रका इकाइ हुन्, उनीहरूमध्ये धेरैजसो यतिसम्मको प्रारम्भिक
जानकारी पनि राख्दैनन् । ज्ञानवर्धक कार्यक्रममा बसेर विषयगत प्रस्तुति सुन्दा आफू
सानो भएको ठान्छन् । कांग्रेसका वर्तमान नेताजति ज्ञानविरोधी नेतृत्व अन्यत्र
विरलै पाइन्छ ।
यहाँ
कांग्रेसबारे विस्तृत विवरण दिनुको विशेष कारण छ, किनभने कांग्रेस देशका
मुद्दाहरूबारे प्रस्ट नभई, विशेष गरेर लोकतान्त्रिक पद्धतिका मामिलामा, एमाओवादी उपि|mँदा केही नहुँदो
रहेछ । एमाओवादीले बृहत् मोर्चा, गठबन्धन जे बनाए पनि त्यसबाट कुनै सार्थक
प्रतिफल आएन र आउनै नसक्दो रहेछ । पहिला पुष्पकमल दाहालकै नेतृत्वमा एमाले लगायतका
दलहरू सरकारमा हुँदा पनि एमाओवादीले स्थिरता दिएन र पछि बाबुराम भट्टराईको
नेतृत्वमा पुग्दा संविधानसभा संविधान नै नल्याई भंग भयो । संविधानसभाको अवधिभर
कसरी हुन्छ, कांग्रेसलाई नेतृत्व नदिने ध्याउन्नमै एमाओवादीले समय व्यतित
गर्यो । यसमा एमाओवादीमात्रै होइन, कांग्रेस आफैं पनि दोषी छ । यसले जनस्तरलाई
पिरोलिरहेका मुद्दाहरूमा आफ्नो दृष्टिकोण राखेन, राख्न सकेन । एमाओवादी
संघीयतामा उत्ताउलो थियो, तर सही के हो त यसबारे कांग्रेस जनस्तरमा गएन, किनभने माथि
भनिएझैं यसका शीर्ष नेताहरूलाई संघीयताको सटिक परिभाषा नै आउँदैन । जसलाई आउँछ, उछिन्लान् भनेर
उनीहरूलाई जनस्तरमा जानै दिइएन ।
कांग्रेस बाहेक
नेपालमा धेरै त कम्युनिस्टै कम्युनिस्ट छन् । यता आएर त झन् कम्युनिस्टहरू, त्यो एमाओवादी
होस् अथवा एमाले कांग्रेसभन्दा बढी अलमलमा छन् । एमाओवादीका नेता दिल्ली खुसी भए, सबै आफ्सेआफ्
बन्छ, उसैले कांग्रेस,
एमालेलाई दबाब दिएर
मनाउँछ भन्ने एकसूत्रीय अभियानमा छन् । एमाओवादी ढुक्क छ, किनभने जातीयताको
मन्त्र दिइएकै छ, ऊ ठान्छ, यही मन्त्र जप्दै भोट
ओइरिहाल्छ । बाँकी रह्यो, मधेसवादीलाई रिझाउने र जोडजाड गर्ने, त्यो काम
दिल्लीले नै गर्छ भन्ने उसलाई परम विश्वास छ ।
दलहरूको स्थिति र
नेताहरूको अवस्था हेर्दा कोही पनि संविधान बनाउने निर्वाचन होइन, वास्तवमा फेरि
पनि सत्ताकै हेराफेरीका लागि चुनावको गुणगान गरिरहेका प्रस्ट हुन्छ । यो गलत दिशा
हो, यसलाई नसच्याई संविधान बन्ने ग्यारेन्टी हुँदैन र
ग्यारेन्टी अर्थात् त्यस्तो प्रत्याभूति बिना कुनै पनि निर्वाचनको दौड निरर्थक
हुन्छ ।
तर दिल्ली र बेइजिङले निर्वाचनका लागि भरपुर
मद्दत गर्छन् भनेर दौडादौड गर्नुभन्दा विवादित विषयबारे गम्भीर मन्थनमा जुट्नु तथा
संविधानको स्वरूपबारे बृहत् समझदारी गर्न-गराउन नागरिक सक्रियता जरुरी भएको छ ।
निश्चय नै दलहरू आधुनिक लोकतन्त्रमा अविभाज्य हुन्छन्, तर तिनकै भरमा
राष्ट्रको पुनःनिर्माण हुने होइन र संविधान पनि बन्ने होइन रहेछ । दलहरूको चरित्र
चित्रण माथिका हरफहरूमा सविस्तार गरिएकै छ, यसमाथि अरु विवरण
पुनरावृत्ति मात्र हुन्छ । यसर्थ यहाँ यथार्थ प्रस्ट र प्रत्यक्ष छ, संविधानको निर्देशक प्रारूप बनाउन दबाब दिँदै
मिडिया लगायत बृहत् नागरिक समूहहरू सक्रिय र चनाखो भएर अघि नबढ्ने हो भने निर्वाचन
नामको कसरत त होला, तर त्यही नै संविधान बन्ने प्रत्याभूति होइन, हुनसक्दैन ।
from http://www.ekantipur.com/np/

0 comments:
Post a Comment